काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले हिजो (बैशाख २५ )३१ औँ वार्षिक उत्सव मनाएको छ । प्रज्ञा प्रतिष्ठान कमलादिमा एक कार्यक्रमको आयोजना गरी ३१ औँ वार्षिक उत्सव मनाएको हो । नार्कले हरेक वर्ष वैशाख २५ गते नार्कले स्थापना दिवस मनाउने गरेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ अनुरूप ३१ वर्षअघि नार्कको स्थापना भएको थियो । परिषद्को अध्यक्ष कृषि तथा पशुपक्षी विकास मन्त्री रहने व्यवस्था छ ।सरकारले यसलाई नेपालमा कृषि सम्बन्धी सम्पूर्ण कृषि अध्ययन अनुसन्धान गर्नेगरि जिम्मेवारी दिएको छ ।

कृषकहरूले भोग्दै आएको समस्या र समाधान, नयाँ प्रविधिको उन्मोचनकासाथै रोग व्याधी लगायत थुप्रै कुरामा अनुसन्धानहरू गर्ने र चाहिएको बखतमा नेपाल सरकारलाई कृषि अनुसन्धान सम्बन्धी नीतिहरू बनाउँदा सरसल्लाह दिने काम नार्कले गर्छ । समग्रतामा भन्दा नेपालभरिका कृषि कार्यहरू सम्बन्धी अनुसन्धान गर्ने एक ‘एक्स बडी’ को रूपमा यसलाई जिम्मेवारी दिइएको छ । 

नार्कले खाद्यान्न, तरकारी, फलफूल, नगदे लगायतका बालीहरू तथा पशुपक्षीको क्षेत्रमा पनि अनुसन्धान गर्दै आएको छ । विउविजनको अनुसन्धानलाई मुख्य कार्यक्रमको रूपमा सञ्चालन गर्दै आएको छ । संघयतापछि नार्क सङ्घीय सरकार मातहतमा छ । 

वाली तथा बागवानी अनुसन्धान, पशु तथा मत्स्य अनुसन्धान लगायत कृषि क्षेत्रको विविध पक्षमा नार्कले हालसम्म ८० वटा बाली वस्तुका ७२३ जातहरू विकास गरी कृषकको खेतबारीमा पुगेको छ ।