गत वर्ष प्रतिमन (४० किलो) २५ हजार रुपैयाँको हाराहारीमा बिक्री भइरहेको अलैंचीको भाउ अहिले ४८ हजार रुपैयाँसम्म

ताप्लेजुङ — सदरमुकाम फुङलिङका अलैंची व्यवसायी भद्रवीर रेग्मीले सोमबार प्रतिमन (४० किलो) ४४ हजार रुपैयाँका दरले ६ मन अलैंची किने । फक्ताङलुङ गाउँपालिका–५ तापेथोक हेल्लोकका शुकबहादुर लिम्बूबाट अलैंची किनेका उनले कुल दुई लाख ६४ हजार रुपैयाँ बुझाए ।

कोइवा केरियर सेवाको ट्रयाक्टरमा ल्याएको अलैंची सदरमुकामकै गोदाममा खन्याए । उनै रेग्मीले गत वर्ष कात्तिक २८ गते फुङलिङ नगरपालिका–१० फुरुम्बुका च्याङ्वा तामाङसँग प्रतिमन २६ हजार रुपैयाँका दरले सात मन अलैंची किनेका थिए । त्यो महिनाभर प्रतिमन २४ र २५ हजारले चलेको अलैंचीको भाउ २८ गते एक हजार रुपैयाँ बढेको थियो ।

अहिले चलनचल्तीमा अलैंची ४४ हजार, ‘पुच्छर’ काटेको ४६ हजार ५ सय र ठूला दाना भएको (ग्रेडिङ गरिएको) अलैंची प्रतिमन ४८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपालबाट भारत अलैंची निर्यात गर्ने झापा बिर्तामोडका व्यवसायी ओमकृष्ण विमली बताउँछन् । उनका अनुसार अघिल्लो वर्ष यही बेला बिर्तामोडमा अलैंचीको मूल्य प्रतिमन २५ हजार रुपैयाँ थियो ।

गत वर्षको तुलनामा अहिलेको मूल्य झन्डै दोब्बर पुगेको व्यवसायी बताउँछन् । यस वर्ष अलैंचीको उत्पादन ७० प्रतिशत हाराहारीमा मात्रै रहेको र भारतबाट माग पनि आइरहेकाले मूल्य बढेको बिमलीको भनाइ छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दोलखासम्म उत्पादन हुने अधिकांश अलैंची बिर्तामोड ल्याएर काँकरभिट्टा नाका हुँदै भारत निर्यात हुने गरेको छ । आफूले पूर्वमा ताप्लेजुङदेखि पश्चिमको लमजुङ, कास्की, गोरखा, बागलुङ र नुवाकोटसम्मको अलैंची किनेको उनको भनाइ छ ।

देशका ४३ जिल्लामा अलैंची उत्पादन हुन थालेको अलैंची ब्यवसायी महासंघको तथ्यांक छ । तर पुराना बगान भएका ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुमलगायत जिल्लामा उत्पादन घट्न थालेको छ । दाना पनि सानो हुने भएकाले चल्तीको उत्पादनलाई इलामे अलैंची भन्ने गरिएको बिमली बताउँछन् । बगानमा उत्तिसलगायत रुख बढ्दै जानु, तिनले नाइट्रोजनको मात्रा आफैंले सोसेर लिनु र पुरानो बगानमा मलपानी कम हुनुले पूर्वमा अलैंची उत्पादन घटेको किसानहरुको दाबी छ ।