एक महिनामा प्रतिकेजी हरियो धनियाँ ३००, जिरीको साग २२०, पालुंगो २१०, रायो १२० रुपैयाँले बढेको छ । त्यस्तै, पछिल्लो डेढ सातामा सोयाबिन केजीमा ९०, मुसुरोको दाल ३५, चामल बोरामा ५० र खानेतेल प्रतिलिटर ३० रुपैयाँ महँगिएको छ । तैपनि नियमन गर्ने सरकारी निकाय भन्छ– मूल्यवृद्धि भएको छैन ।

काठमाडौंमा हरियो तरकारीको भाउ उपभोक्ताको ढाड सेक्ने गरी अकासिएको छ । सागको मूल्य त एक महिनामा झन्डै चार गुणासम्म महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा जिरीको साग २५ साउनमा प्रतिकिलो ८० रुपैयाँ थियो । शनिबार त्यसको मूल्य तीन सय पुगेको छ । त्यस्तै, ९० रुपैयाँ प्रतिकिलो रहेको पालुंगोको साग शनिबार तीन सय रुपैयाँसम्ममा बिक्री भएको छ । 

अन्य सबै किसिमका सागको मूल्य पनि दोब्बरसम्म महँगिएको छ । एक महिनाअघि प्रतिकेजी ९० रुपैयाँ रहेको रायो सागको मूल्य शनिबार दुई सय रुपैयाँ पुगेको छ । तोरीको साग ६० रुपैयाँबाट बढेर सय रुपैयाँ पुगेको छ । त्यस्तै, हरियो धनियाँ महिना दिनअघि दुई सय रुपैयाँ प्रतिकिलो रहेकोमा शनिबार पाँच सय रुपैयाँ पुगेको छ । 

कालीमाटी तरकारी बजारको बिक्री सूचीअनुसार कागती, कुरिलो, घिउसिमी, घिरौँला, करेला, बोडी, ब्रोकाउली, भिन्डी, लौका, हरियो प्याजलगायत सबै तरकारीको मूल्य अकासिएको छ । सबैको भाउ दोब्बरसम्म बढेको छ । भारतबाट आयात हुने आलु र प्याजको मूल्यमा भने खासै अन्तर परेको छैन । भारतबाट आलु मागको ६० प्रतिशत र प्याज ९५ प्रतिशत आयात हुने गरेको छ । अहिले सुकेको प्याजको मूल्य महिना दिनदेखि ४८ रुपैयाँ प्रतिकिलोमा स्थिर रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । रातो आलूको मूल्य भने ५५ रुपैयाँ प्रतिकिलोबाट बढेर ५८ रुपैयाँ पुगेको छ । सेतो आलू पनि किलोमा १० रुपैयाँ बढेर ४६ रुपैयाँ प्रतिकिलो कायम भएको छ । 

निरन्तरको वर्षात्, बेमौसम र उत्पादन घट्ने सिजनका कारण हरियो तरकारीको मूल्य अकासिएको समितिले जनाएको छ । पछिल्लो समय उपत्यकामा तरकारी आपूर्ति अनियमित हुने गरेको कालीमाटी बजारका उपनिर्देशक विनय श्रेष्ठले बताए । 

‘यो वेला ५–६ सय टन तरकारी कालीमाटी बजार भित्रियो भने उपत्यकाको माग धान्न सकिन्छ । तर, कहिले तरकारी नै नआउने, कहिले बढी–घटी आउने गरेको छ,’ उनले भने, ‘बुधबार–बिहीबार कालीमाटीमा आठ–नौ सय टनका दरले तरकारी आयो । वर्षात्का कारण बाटोमा रोकिएका र यहाँ माग बढेपछि व्यवसायीले आपूर्ति परिमाण बढाएको तरकारीसमेत गरेर धेरै आएको हो ।’ वर्षात् कम हुँदै जाँदा आपूर्ति बढ्न थालेकाले मूल्य बिस्तारै कम हुने अपेक्षा राखेको उनले बताए ।

गोलभेँडा र च्याउ सस्तियो

गोलभेँडाको मूल्य भने सस्तिएको छ । कालीमाटी बजारमा एक महिनाअघि सानो गोलभेँडा ३० रुपैयाँ प्रतिकिलो रहेकामा बिहीबार प्रतिकिलो १५ रुपैयाँमा र शनिबार प्रतिकिलो २० रुपैयाँमा बिक्री भएको छ । गत वर्ष यही वेला किसानले राम्रो मूल्य नपाएकाले यस वर्ष धेरै किसानले गोलभेँडा लगाएका छैनन् । जसले लगाएका छन्, उनीहरूले पनि बिक्री गर्न सकेका छैनन् । कालीमाटी बजारका उपनिर्देशक श्रेष्ठका अनुसार विगतमा उपत्यकाको गोलभेँडा तराईका जिल्लामा समेत पुर्‍याइने गरेकोमा यसपालि वर्षात्का कारण रोकिएको छ ।

 ‘गोलभेँडा किसान त मूल्य नपाएर रोएर बसेका छन्,’ उनले भने, ‘उपत्यकाको टनेलमा धेरै राम्रो गोलभेँडा खेती हुने गरेको छ । यहाँको गोलभेँडा उपत्यकाबाहिर र भारतमा समेत निर्यात हुने गरेको थियो । तर, यसपालि उपत्यकाबाहिर पुर्‍याउन नसक्दा टनेलमै कुहिन थालेको छ ।’ मागभन्दा उत्पादन बढी भएका कारण बारीमै सड्न थालेकाले मूल्य धेरै घटेको उनले बताए । 

त्यस्तै, डल्ले च्याउ एक महिनाअघि चार सय रुपैयाँ प्रतिकिलोमा बिक्री भएकोमा शनिबार तीन सय ८० रुपैयाँ निर्धारण गरिएको छ । झिगुनी पनि एक महिनामा प्रतिकिलो ८० रुपैयाँबाट ३५ मा झरेको छ । सुकेको लसुनको भाउ पनि घटेको छ । एक महिनाअघि दुई सय १० रुपैयाँ रहेकोमा शनिबार एक सय ७० मा कारोबार भयो । 

कालीमाटी बजारका उपनिर्देशक विनय श्रेष्ठको हिसाब

यी हुन् तरकारीको मूल्य बढ्नुका तीन कारण

१. हरियो तरकारीका लागि अहिले बेमौसम हो । सबै हरियो तरकारीको उत्पादन घटेको छ । तर, यहीवेला निषेधाज्ञा खुलेर होटेल, रेस्टुरेन्ट सञ्चालनमा आएका तथा तिजसमेत भएकाले माग बढेर मूल्यवृद्धि भएको हो । 

२. निरन्तरको वर्षाले तराईका बारीमै तरकारीमा क्षति पुगेको छ । भएको तरकारी पनि वर्षात्कै कारण ठाउँठाउँमा बाटो अवरुद्ध हुँदा समयमै आउन सकेको छैन । कहिले धेरै आउने, कहिले थोरै आउने, कहिले आउँदै नआउने त कहिले बिग्रिएको अवस्थामा आइपुग्ने गरेको छ । यसले मूल्य बढाएको छ ।

३. हरियो तरकारीमा मुलुक बिस्तारै आत्मनिर्भर हुँदै गएकाले भारतबाट आयात नै कम हुन थालेको छ । त्यसैले नेपालमा तरकारी तलमाथि हुँदा मूल्य पनि तलमाथि हुन्छ । भारतबाट आयात हुने आलु, प्याज नियमित आएकाले मूल्य खासै बढेको छैन ।

खाद्यान्नमा पनि उस्तै : डेढ सातामै मुसुरोको दाल किलोमा ३५ र तेल लिटरमा ३० रुपैयाँ बढ्यो

 तरकारीको मात्रै होइन, दैनिक उपभोग्य खाद्यवस्तुको पनि निरन्तर मूल्यवृद्धि भइरहेको छ । पछिल्लो समय बाढीपहिरोले उत्पादन र ढुवानी लागत बढेको भन्दै व्यापारीले उपभोक्तामाथि अत्याचार गरेका छन् ।

चामल, तेल, मुसुरोको दाल, चिनी, मैदा, सोयाबिनलगायत वस्तुमा डेढ सातादेखि मूल्यवृद्धि हुने क्रम रोकिएको छैन । एक सय १० रुपैयाँ प्रतिकिलोको सोयाबिन दुई सय पुगेको छ । त्यस्तै, डेढ साताअघि एक हजार सात सय रुपैयाँमा बिक्री भइरहेको जिरा मसिनो ९१ नम्बर गुणस्तर० को २५ किलोको बोरा अहिले एक हजार सात सय ५० रुपैयाँ पुगेको खुद्रा व्यापार संघका कार्यबाहक अध्यक्ष रामकृष्ण मानन्धरले बताए । उनका अनुसार सबै प्रकारका चामलमा सामान्य मूल्य बढेको भए पनि जिरा मसिनो एक नम्बरमा अस्वाभाविक रूपमा बढेको हो ।

त्यस्तै, डेढ साताअघि एक सय २५ रुपैयाँ प्रतिकिलो रहेको मुसुरोको दाल अहिले एक सय ६० रुपैयाँ पुगेको छ । ८६ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको चिनी सय रुपैयाँ पुगेको छ भने मैदा प्रतिकिलोमा चार रुपैयाँ बढेको छ । डेढ साताअघि प्रतिकिलो ४३ रुपैयाँ रहेको मैदा अहिले ४७ रुपैयाँमा बिक्री भइरहेको छ । 

डेढ सातामै खानेतेल २० रुपैयाँसम्म महँगियो

खानेतेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । डेढ साताअघि दुई सय ३० देखि दुई सय ४० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको रहेको फेमिली ब्रान्डको सनफ्लावर तेल अहिले दुई सय ६० पुगेको छ । त्यस्तै, भटमासको तेल दुई सय २५ रुपैयाँबाट बढेर दुई सय ४५ रुपैयाँसम्म पुगेको छ । केही पसलमा भटमासको तेल दुई सय ५० लिटरसम्मले कारोबार हुन थालेको छ । 

त्यस्तै, तोरीको तेल दुई सय ३० रुपैयाँबाट बढेर दुई सय ५० रुपैयाँ पुगेको छ । धारा तोरीको तेलमा सबैभन्दा बढी मूल्यवृद्धि भइरहेको छ । डेढ साताअघि तीन सय ४० रुपैयाँ प्रतिलिटर रहेको धारा तेल अहिले तीन सय ६० रुपैयाँ पुगेको छ । 

खुद्रा व्यापार संघको तथ्यांकअनुसार कोरोना महामारी सुरु भएयता खानेतेल सय रुपैयाँ प्रतिलिटरसम्म महँगिएको छ । नेपालमा सिंगापुर र मलेसियाबाट कच्चा खानेतेल धेरै आयात हुने गरेको थियो । तर, कोरोनाकालमा व्यवसायीले छोटो दूरी रोज्दै भारतबाट कच्चा तेलको आयात गर्न थालेपछि महँगो परेकाले नेपाली बजारमा मूल्य बढेको व्यवसायीहरूको तर्क छ । 

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कतिपय अवस्थामा कृत्रिम अभाव सिर्जना गर्न खोजेर र कतिपय अवस्थामा अन्तर्राष्ट्रिय बजारको गलत तथ्यांक देखाएर मूल्यवृद्धि भइरहेको बताए । ‘एक हिसाबले भन्ने हो भने अहिले बजारमा व्यवसायीले अराजकता देखाएका छन् र हरेक उपभोग्य वस्तु खरिदमा उपभोक्ता पीडित हुनुपरिरहेको छ । तर, बजार मूल्य नियमन गर्ने सरकारी निकाय मूकदर्शक भएर बसेको छ । मूल्य नियमनका लागि कुनै अग्रसरता नै नदेखाएर आफ्नो कमजोरी प्रस्ट पारेको छ,’ उनले भने । 

नियमनकारी निकायले तदरुकता देखाए अस्वाभाविक मूल्यवृद्धि तत्काल रोकिने महर्जनले बताए । ‘नियमनकारी निकायले पहिले र अहिलेको बजार मूल्य संकलन गर्नुपर्छ । र, हालको मूल्यवृद्धि के–कति कारणले भएको पत्ता लागिहाल्छ,’ उनले भने । 

 

खुद्रा व्यापार संघका कार्यबाहक अध्यक्ष रामकृष्ण मानन्धरले भने, ‘उपभोक्ताहरू किराना पसलमा आएर मूल्य बढेको थाहा पाउँछन् र खुद्रा पसलेले मूल्य बढाएको जस्तो गरी रिसाउँछन् । तर, मूल्य बढाउने कुरामा हाम्रो खासै भूमिका हुँदैन । उपभोक्तालाई के कारण मूल्य बढिरहेको छ भन्नेबारे सरकारले यथेष्ट जानकारी दिने वा मूल्य नियन्त्रण गर्न अघि सर्नु जरुरी छ ।’ बजार मूल्य नियमनका लागि सरकारको अनुगमन प्रणाली सशक्त हुनुपर्ने उनको भनाइ छ । 

नियमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाईंले बजार मूल्य नियमनका लागि खुद्रा, डिलर हुँदै आयातकर्तारउत्पादनकर्तासम्म अनुगमन गरिरहेको दाबी गरे । विभागले दैनिक तीनवटा टोली परिचालन गरी अनुगमन गरिरहेको र चाँडै दसैँलक्षित १० टोली अनुगमनमा खटाउने उनले बताए ।

व्यापारीहरूले मूल्यवृद्धि नगरेको सेढाईंको दाबी छ । ‘हामीले केही दिनअघि खाद्यान्नको डिलर र आयातकर्ताकहाँ अनुगमन गरेका थियौँ,’ उनले भने, ‘त्यसक्रममा खरिद–बिक्री बिल हेर्दा २० प्रतिशतकै नाफाभित्र रहेर काम गरेको देखियो ।’

थोक व्यवसायीको संगठन खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले अहिले चामलको मूल्य बढ्ने सिजन नै भएको बताए । ‘प्रत्येक वर्ष यही वेला चामलमा केही मूल्य बढ्ने गरेको देखिन्छ,’ उनले भने, ‘यो वेला पुरानो चामलको मौज्दात सकाउने समय हो । किनभने कात्तिक–मंसिरदेखि धान काट्न सुरु हुने भएकाले नयाँ चामल बजारमा आउन थाल्छ । त्यसैले पुरानो चामल कम हुने र मौज्दात सकाइहाल्नुपर्ने दबाबका कारण मूल्य बढ्ने गरेको हो । अहिले बोरोमा ५०–६० रुपैयाँ बढ्नु स्वाभाविक हो ।’